दफा १८
मतदाता नामावलीबाट नाम हटाउने
(१) मतदाता नामावलीमा नाम समावेश भएको कुनै व्यक्तिको मृत्यु भएको वा नागरिकता त्याग गरेकोमा निजको एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले प्रमाण सहित नाम दर्ता अधिकारी समक्ष सूचना दिन पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएपछि नाम दर्ता अधिकारीले तोकिए बमोजिम जाँचबुझ गर्दा त्यस्तो व्यहोरा मनासिब देखिएमा त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट तोकिए बमोजिम हटाउनु पर्नेछ ।
तर उपदफा (१) बमोजिम सूचना प्राप्त नभए तापनि कुनै मतदाताको विवाह भई अर्को ठाउँमा बसाई सरी दफा ९ बमोजिम त्यस्तो ठाउँको मतदाता नामावलीमा नामदर्ता भएको वा अन्य कारणले बसाई सरी अन्यत्र गएको वा मृत्यु भएको वा नागरिकता त्याग गरेको वा नागरिकता रद्द भएको व्यहोरा प्रमाणित हुन आएमा नाम दर्ता अधिकारीले त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट हटाउनुपर्नेछ ।
(३) यस दफा बमोजिम मतदाता नामावलीबाट नाम हटाइएकोमा त्यसको सूचना नाम दर्ता अधिकारीले सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडा कार्यालयमा टाँस गर्नु पर्नेछ ।